प्रिय मनिता,
तिम्रो परिभाषाको प्रेमीमा समाहित हुन
नसक्ने मान्छेले लेखेको हुनाले यो पत्रलाई प्रेमपत्रको दर्जा त नमिल्ला तर विश्वास
गर यो पत्र शब्दमात्र होईन भावनाले पनी भरिएका छन र मलाई थाहा छ तिमी भावनाको
सम्मान गर्छौ र आशा छ मेरो लागी होईन मेरा भावनाको लागी तिमीले यो पत्र पढनेछौ।
कसले भन्यो माया भन्ने कुरा मुटुले गर्छ? सायद मुटुले मात्र प्रेम हुने भए चखेवा होइन ती तिन मुटुधारि अक्टोपस
प्रेमका प्रतीक हुन्थ्यो। तर संसार विचित्रको छ हेर यहाँ नियम भन्दा बढि अपवाद र
अपवाद भन्दा बढि असन्तुलनहरू छन्। यहाँको नियमले बाँध्न नसकेर अनि अपवादको सीमामा
नअटाएर असन्तुलित भएको एउटा प्राणी म थिए। म यो कलेजको नितान्त फरक पात्र थिए किनकी अरू सपना पुरा भएर
यहाँ आएका थिए तर म मेरो सपना पुरा गर्न नसकेर आएको थिए। त्यसैले मेरो इन्जिनियरिङ
मेरो लागी शिक्षा कम र सजाय बढि थियो। सपना टुट्दाको पिडा हलका भएको थिएन त्यसैले
अर्को सपना देख्ने हिम्मत नै गर्न सकेको थिएन। मैले मेरो कलेजको पहिलो वर्षमा
गरेका सम्पूर्ण कामहरू नै पछि गएर अवगुणहरू भएर निस्के। मानीष लाई गुणहरू विकास गर्नको
निमित्त कैयौँ वर्ष लाग्छ तर अवगुणहरू विकास गर्नको निमित्त धेरै कम समयपनि
पर्याप्त हुँदो रहेछ। म एक वर्षमा नै बोतलमा बिक्न लागे, गाँजाको सहारामा टिक्न थाले। अनि
दोस्रो वर्षमा जब तिमी नयाँ वर्षको विद्यार्थी बनेर आएकी थियौ म धुवाले धमिल्याएको
आँखाहरूबाट मेरो अन्धकार भविष्यलाई नियालिरहेको थिए। तिम्रो र मेरो पहिलो भेट पनि
कुनै भेट थिएन त्यो मैले कलेजमा गर्ने र्यागिङ्गको अर्को शृङ्खला थियो तरपनि पहिलो
पटक एक प्रेमीले आफ्नो प्रेमीकालाई देख्दा घटनै पर्ने भनिएका घटनाहरू त्यहाँ घटेका
थिए। तिम्रो मेरा आँखाहरू जुधे तिमीले मलाई हेर्यौ थोरै लजायौ अनि शिर झुकायौ। यदि
म सामान्य भएको भए त्यसपछि फेरि हाम्रो भेट हुन्थ्यो होला, म तिमीसँग बोल्थे होला, हामी कफी डेटमा कतै जान्थ्यौ होला अनि
हामी पनि यो प्रकृतिको नियम धान्ने अर्का प्रेमिल जोडि हुने थियौ। तर विडम्बना म
त्यस्तो हुन सकेन बरु मैले त्यो समयमा तिम्रो मजाक उडाए तिम्रो भावनामा खेले।
तिमीले पक्कै पनि नराम्रो सोच्यौ भन्ने कुरामा कुनै द्विधा छैन र तिमी कलेजको
पहिलो दिनमा नै त्यस्तो नराम्रो भोग्दा पछिल्ला दिनहरूमा कति हतोत्साहित भयौ होला
भन्ने कुराको पनि म सहज मूल्याङ्कन गर्न सक्छु। मैले माफी माग्नाले कुनै अर्थ त
राख्दैन होला तर पनि मानव हुनाको नाताले र समय परिवर्तनशील छ भन्ने कुराको मनन गरि
यदि तिमी विगतलाई भुल्छौ भने, मनिता, म मैले पहिले गरेका गल्ती प्रति हार्दिक
क्षमा याचना गर्न चाहन्छु।
मलाई लाग्थ्यो ईमोसन मनीषको शत्रु हो।
यसले मनीषलाई सार्है नै कमजोर बनाउँछ। मान्छेले आफ्नो इमोसनलाई केही समयको लागी काबूमा
राख्न नसक्नाको कारण ठूला-ठूला दुर्घटनाहरू भएका छन्। तर त्यही इमोसनले मानीषलाई
सत्मार्गमा पनि डोर्याउन सक्दा रहेछन्। त्यसको उदाहरण म नै बनेको छु हेर्। म जब
सानो बच्चा थिए, कोही
श्रीमान वा श्रीमतीको कुरा गर्थ्यो भने म लजाउथे। बिस्तारै उमेर बढ्दै जाँदा मैले
मेरो श्रीमती हुने स्त्रीको निम्ती केही सिमा निर्धारण गरे। म स्कूल पढे ,पछि प्लस टु कलेजमा गए अनि त्यहाँ भेट्ने
हरेक केटी साथीमा मैले त्यही निर्धारण गरेका चरित्रहरू खोज्न थाले। तर अफसोस मैले
खोजेको जस्तो पाउन सकिन र पछि विस्तारै मैले खोज्न नै छोडी दिए। मेरो जीवनमा
गलफ्रेन्ड त परै जावोस स्त्री साथीहरू पनि औँलामा अटाउने मात्र छन्। म त्यस्तो
मान्छेलाई तिमी प्रति आकर्षण कसरी आयो भनेर तिमिपनि आश्चर्यचकित भयौ होला। हो म पनि सुरुका केही दिनहरूमा त्यसरी नै आश्चर्यमा
परेको थिए। अझ मलाई म मा जागृत भएको भावनालाई माया भन्छन् भन्ने कुराको चाल पाउन
पनि करिब हप्ता दिन नै लाग्यो। मैले सोचेको थिए मैले बच्चा बेला देखि नै राखेका सर्तहरूमा
समाहित हुन सक्ने केटीसँग मात्र मेरो माया बस्नेछ। तर यो प्रकृतिसँग भएको प्रेमको
नियम साँच्चै नै कठिन रहेछ र यसलाई बुझ्नु म जस्तो आम मनीषको क्षमता भन्दा बाहिरको
कुरा हो। जब तिमी प्रति मेरो प्रेम बसेको छ भन्ने कुराको मलाई पत्तो भयो मलाई डर
लाग्न थाल्यो। प्रेममा पर्नु हानिकारक त होइन तर मान्छे नै हानिकारक छ भने त्यसले
निम्त्याउन सक्ने नतिजाहरू दुष्परीणाम मात्र हुन पुग्छन्। तिमिलाई याद छ या नाइँ
जब मैले तिम्रो सलको सर्कोलाई तान्दै तिमीलाई जिस्काइरहेको थिए तिमीले फर्केर मलाई
गालामा चड्कन हान्दै लामो समय गाली गरेकी थियौ? हो त्यो क्षणमा मैले यो कुराको महसुस गरेको थिए कि मैले त्यसरी गाली
नखाएको वर्षौ भइसकेको छ र मलाई मेरो जिन्दगीमा यस्तै कोही मान्छेको खाँचो छ। मैले
जब अन्तिम पटक गाली खाएको थिए त्यो बेलामा बुवाले मलाई फोनमा अमेरिकन एम्बेसीमा
रिजेक्ट भएको भनि गर्नुभएको थियो। तत्पश्चात् मलाई कसैले यो गर भनेर भन्यो न मैले
कसैले सुने। थाहा छैन किन म त्यसपछि पनि तिमिलाई जिस्काउने नै झैँ गरि गएको थिए तर
जब तिम्रो अघि पुगे अप्रत्याशित रूपमा म मौन हुन पुगे। तिमीले त्यो बेला मलाई गाली
गरेर कुराको सुरु गर्यौ र रोएर कुराको अन्त्य गर्दा मलाई साँच्ची नै जिन्दगी देखि
नै घृणा जागेर आयो। मैले तिमीलाई त्यस्तो नराम्रो गर्दा पनि तिमी मलाई अझै सुध्रन
अनुरोध गरि रहेकी थियौ। साँच्चै तिम्रो महानतालाई वर्णन गर्नका निम्ति म सँग कुनै शब्दहरू
नै छैन।
त्यसपछि म निरन्तर सुध्रने प्रयास गरि नै
रहेको छु। कुलत बाट निस्कन बडो कठिन हुने रहेछ। तर थाहा छैन किन मलाई जब-जब म
तिमीलाई सम्झन्थे मेरा लागि यी कामहरू सहज हुन थालेका थिए। तिम्रो अनुहार मेरा लागी प्रेरणा बनेका
थिए,जब म चुरोट
समात्दै गर्दा तिम्रो अनुहार सम्झन्थे चुरोट खाने मन हुन छाड्यो। बिस्तारै म कम
बोल्ने खालको हुन थाले र पुराना साथीहरू सट्टा नयाँ साथीहरू सँग बढी समय व्यतीत
गर्न लागे। मैले धेरै समय पछि किताब पल्टाउने चेष्टा गर्दै गर्दा बल्ल मलाई मेरा
ब्याक परीक्षाहरूको बारेमा सम्झना हुन थाल्यो। आजकल धरै पछि फेरि पढ्ने बानीको विकास
हुन थालेको छ, अक्षरहरू
सँग आँखा जुधाउँदै बस्दा कहिले कहि अक्षरहरूमा तिम्रो ती सुन्दर अनुहारहरू छाई दिन्छन्
अनि म शब्दबाट हटेर तिमीमा हराउँछु। पछिल्ला दिनहरूमा मैले तिम्रो त्यो फेस बुकको प्रोफाइल
पिक्चर मात्र कति हेरे भन्ने कुराको कुनै गणना छ जस्तो लाग्दैन। कुलतबाट हट्ने
प्रयासको स्वरूप आजकल जिमहल धाउन थालेको छु। तर तिम्रो अगाडि पर्दा आजकल किन-किन
डर लागेर आउँछ अनि तिमीलाई सिधा आँखाले हेर्ने सामर्थ्य पनि गर्न सक्दिन। तिमीबाट
भाग्न खोज्ने प्रयास पनि नगरेको होइन्। साथीहरूले भनेका थिए म तिम्रो झापड बाट
डराएर तिमीलाई जिस्काउन छोडे। तर यथार्थ त यो हो कि म तिमीलाई सधैँ भरीको लागि
चाहन लागिसकेको थिए र मैले आफूलाई परिवर्तन गर्न नसकेका तिम्रो र मेरो बीचमा केही
हुने सम्भव नदेखेर नै मैले आफूलाई बदलेको छु।
मनिता तिमीले थाहा नै नपाईकन मेरो
जिन्दगीमा आमूल परिवर्तन ल्याइदिएको छौं र त्यस प्रति म तिमीलाई हार्दिक कृतकता
व्यक्त गर्न चाहन्छु। प्रेम
र प्रेमिकाको भूमिकामा म केही चुकौला तर विश्वास गर म तिम्रो ओठमा हासो ल्याउनका
लागि हरेक क्षणमा प्रयास गर्ने छु। मेरो
जिन्दगीमा पूर्णता भन्नु नै तिम्रो उपस्थिति मेरो जीवनमा हुनु सँग छ। आऊ मनिता
तिमी र म मिलेर नयाँ प्रेमको उदाहरण दिउँ। हाम्रो प्रेम सुन्दरताले कुरूपता छुँदा
सम्म पनि जीवन्त रहन सकोस्। म तिमीलाई मेरो जिन्दगीको पात्र होइन हिस्सा बनाउन
चाहन्छु, हाम्रा कथाहरू
मात्र किस्सा होइन भोलि बुढेसकालमा थोते दाँत लिदैँ नाति नातिनीलाई सुनाउने जीवन कहानी
बनाउन चाहन्छु। जिन्दगी यसरी बाचौला कि मृत्युलाई आउन डर लागोस्। मनिता तिमीलाई आज
यो पत्र लेखेर बिन्ती गर्दै छु के तिमी मेरो प्रेमिका बन्ने छौं ?
No comments:
Post a Comment