आमा भन्नुहुन्थ्यो,
क्षितिजको त्यो बादलपारि
कतै टाढा विरानो देशमा
मेरा बाबा गएका छन अरे
आकाशमा उडेका हवाईजहाजलाई
चिच्याउदै म भन्ने गर्थे
“मेरो बाबा आउनुभयो”
मेरा अबोध मगजमा बसेको
बिदेशको त्यो कल्पना
जहाँ आमाको टल्कने सारि छ
मेरो खेलौने भट्भट् छ
अनि पल्ला घरे काकाको जस्तै
ठुलो घर बनाउने पैसाहरु
मेरा बा ति सबै बटुलेर आउनुहुनेछ
हाम्रो सपनालै सार्थक बनाउनुहुनेछ।
सपनाले जन्माएको अर्को सपना
त्यहि सपनामा बाचिरहेका
घर परिवार अनि सन्तान
आहार जुटाउन टाढा उडनुपर्ने
एउटा चरिको विवशता
त्यहि विवसताले सृजित
एउटा अलीखित परम्परा
जसले हिजो वुवालाई बाध्यो
भोलि मलाई बाध्नेछ
जहाँ घटेको धुरिको इमानलाई
जोघाउने जिम्मा लिईकन
मौलाएको छ देखासिकी अनि
समयले बदल्छ गन्तव्य
मुग्लान देखि अरबका खाडिमा
जापानदेखि अष्ट्रेलियाका पहाडिमा।
बच्चा छदाँ “मेरो देश” पढाएका रामे सर
समाजलाई बदल्ने हाम्ले हो भन्ने
विद्यार्थि नेता हरिशरण दाई
ति घर बनाउने काले दाई
ट्रयाक्टर चलाउने लाले दाईसगै
औलामा नअटने ति अनगिन्ति नामहरु
माधे, राजु, बिशाल, गोबिन्दे, गणेश
जुन दिनानुदिन बढदैछन अनि लम्बिदैछन
ति राहदानिका लाईनहरु
अनि थाहै नपाई लम्बिरहेको छ
देशले परिवर्तनको कोल्टो फेर्ने समय।
त्यो रातो बाकसमा बेरिएर आउने
अनगिन्ति ति
लासहरुको लहरसगैँ
पुछिएका सिउदोहरुँ
बुवाआमाले
गुमाएका बुढेसकालको सहारा
बुवा बिनाका ति लालावालाको बाल्यकालहरु
जहाँ उनिहरुलाई ठेसलाग्दा उठाईदिने
उनिहरु टुटदा हिम्मत जुटाईदिने
मान्छेको अभावमा
वितेका उनीहरुको समय
देख्छन सबैले तर
गर्न केहि सक्दैनन
अनी तडपिन्छ यउटा
युवा जमात
मानसपटलमा परेको नमेटिले घाउ बोकि
काप्दछन अघि
बढेका पाइलाहरु तर
डरले भोक टर्दैनन्
राष्ट्रियताले
आङ् भर्दैनन्
अनि लम्किन्छन
पाईलाहरु
त्रिभुवन
अन्तराष्ट्रिय विमानस्थलमा
नेतालाई सराप्दै
आफ्नो
पुर्पुरोलाई धिक्कार्दै।।
No comments:
Post a Comment